शनिबार १० असोज २०८३
समाज

वसन्तपुरमा मनाइयो इन्द्रजात्रा

शुक्रबार असोज ९, २०८३/ Friday 09-25-26

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुरमा वर्षाबीच परम्परागत एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनासहित शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक गतिविधि आयोजना गरिएका हुन्।

जात्राका क्रममा कुमारी घरबाट श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा निकालिएको थियो। मनसुनी झरीका बीच पनि रथयात्रा अवलोकन गर्न वसन्तपुर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण भेला भएका थिए।

रथयात्रासँगै परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी तथा विभिन्न समुदायका प्रस्तुति देखाइएको थियो। देवप्याखँ, लाखेनाच र पुलुकिसी नाचलगायतका परम्परागत नाच इन्द्रजात्राका प्रमुख आकर्षण बने।

काठमाडौं उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा इन्द्रजात्रा मनाइँदै आएको छ। जात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक, हनुमानढोका लगायतका क्षेत्रमा दिनभर चहलपहल देखिएको थियो।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारका मन्त्री तथा विभिन्न विशिष्ट व्यक्तिहरू पनि वसन्तपुर पुगेका थिए।

 

तपाईको प्रतिक्रिया