भारी वर्षाको जोखिमसँगै ७७ वटै जिल्लामा सुरक्षा निकाय तयारी अवस्थामा
काठमाडौं । देशभर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित विपद् र क्षति न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ।
सरकारले ७७ वटै जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेको छ। गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला सुरक्षा समितिको बैठक राखेर आवश्यक सुरक्षा तथा उद्धार तयारी मिलाउन निर्देशन दिएको छ।
नदी तथा खोलाका तटीय क्षेत्रमा स्थानीयलाई सचेत गराउन माइकिङ गर्ने र जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। अस्पताल, स्वास्थ्य केन्द्र र एम्बुलेन्सलाई समेत आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राखिएको छ।
कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सरकारी संयन्त्रलाई पूर्ण रूपमा सक्रिय बनाइएको बताएका छन्। उनले स्थानीय तहलाई विपद्पछिको प्रतिकार्यमा आवश्यक स्रोतसाधन परिचालन गर्न आग्रह गरेका छन्।
यसैगरी, पर्यटन मन्त्रालयले पर्यटकलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक सहजीकरण गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ। मौसमको अवस्था हेरेर आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालयमा बिदा गर्न सकिने व्यवस्था गरेको छ। असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने भनिएका परीक्षा स्थगित गर्न तथा सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नसमेत सहजीकरण गरिएको छ।
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रमार्फत अस्पतालमा जनशक्ति, औषधि र एम्बुलेन्स सेवा चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ। खाद्यान्न तथा इन्धनको आपूर्ति नियमित राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ भने कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको छ।
जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रमुख नदीमा पाँच दिनसम्म र साना नदीमा ४८ घण्टाअघि नै बाढीको पूर्वसूचना उपलब्ध हुने व्यवस्था मिलाएको छ। विद्युत् अवरुद्ध भए तत्काल सेवा पुनः सञ्चालन गर्न विद्युत् प्राधिकरणका कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ।
तपाईको प्रतिक्रिया