तार्केश्वर कांग्रेस नगर सभापतिमा श्यामकृष्ण सापकोटा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं तार्केश्वर नगर समितिको सभापतिमा श्यामकृष्ण सापकोटा निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ नगर महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न नगर अधिवेशनमा सापकोटाले १९५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी निर्मल कुमार लामाले १३० मत प्राप्त गरे।
नगर उपसभापतिमा शिवप्रसाद अर्यालले १७४ र सानकाजी महर्जनले १५० मत प्राप्त गर्दै निर्वाचित भएका छन्। महिला उपसभापतिमा सगुना खत्री १८० मतसहित निर्वाचित हुँदा सारदा खनालले १२२ मत प्राप्त गरिन्।
त्यस्तै, नगर सचिवमा राधेश्याम फुयालले १७२ र सबिना परियारले १४८ मत प्राप्त गरेका छन्।
सहसचिवमा समित केसीले १८३ र विकास कोइरालाले १२४ मत प्राप्त गरेका छन्।
निर्वाचित भएपछि सापकोटाले आफूलाई प्राप्त मतलाई जिम्मेवारी र विश्वासका रूपमा लिएको बताएका छन्। उनले सबैलाई समेट्दै नेपाली कांग्रेस तारकेश्वरलाई अझ संगठित, सुदृढ र जनमुखी बनाउन प्रतिबद्ध रहेको बताएका छन्।
तपाईको प्रतिक्रिया