मंगलबार ६ असोज २०८३
राजनीति

संघीय संसद्का दुवै सदन आज बस्दै, यस्ता छन् कार्यसूची

सोमबार असोज ५, २०८३/ Monday 09-21-26

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने कार्यतालिका छ।

बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस्तै, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

त्यसैगरी, मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति तथा पूर्वाधार विकास समितिका बैठकसमेत बस्नेछन्।

 

तपाईको प्रतिक्रिया