बिहीबारदेखि राति र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले लगातारको वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो। विशेषगरी रातिको समयमा यात्रा नगर्न महासंघले आग्रह गरेको छ।
यातायात व्यवसायीलाई भने सवारी सञ्चालन गर्नुअघि सम्बन्धित सडकको अवस्था र मौसमको जानकारी अनिवार्य रूपमा लिएर मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मौसम र सडकको अवस्थालाई ध्यानमा राखेर मात्र यात्रा तथा यातायात सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको थियो। सोही अनुरूप महासंघले आफ्ना सदस्य व्यवसायीलाई सतर्क गराएको जनाएको छ।
यस साता निरन्तर वर्षा हुने सम्भावना रहेकाले विभिन्न स्थानमा सडकमा बाढी, पहिरो तथा अन्य जोखिम उत्पन्न हुन सक्ने भन्दै सरकारले समेत सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया