असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम: उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले असोज ८ देखि १२ गतेसम्म नेपालमा मनसुनी गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। यस अवधिमा देशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडेलको विश्लेषण गर्दा असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि तीव्र हुने संकेत देखिएको बताएका छन्। उनका अनुसार केही पूर्वानुमान मोडेलले उक्त अवधिमा ४०० देखि ७४१ मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएका छन्।
तर, वर्षा देशभर समान रूपमा हुने नभई निश्चित भूभागमा बढी केन्द्रित हुनसक्ने डा. पोखरेलको भनाइ छ। उनले सम्भावित जोखिमबारे समयमै जानकारी गराउनुको उद्देश्य त्रास फैलाउनु नभई नागरिक तथा सम्बन्धित निकायलाई पूर्वतयारीका लागि पर्याप्त समय उपलब्ध गराउनु रहेको स्पष्ट पारेका छन्।
मौसमसम्बन्धी विभिन्न मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्थालाई तुलनात्मक रूपमा संवेदनशील देखाएका छन्। विशेषगरी असोज १० गते भारी वर्षाको सम्भावना बढी रहेको अनुमान गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै मौसमविद्हरूले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा सकेसम्म नगर्न वा स्थगित गर्न सुझाव दिएका छन्। यद्यपि, विगतमा शक्तिशाली देखिएका मौसमी प्रणाली नेपाल प्रवेश गर्ने क्रममा कमजोर भएका उदाहरण रहेकाले अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने र अनावश्यक त्रासमा नपर्न पनि उनीहरूले आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित मौसमी प्रणालीको निरन्तर निगरानी भइरहेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता प्रणालीको स्वरूप र दिशा परिवर्तन हुन सक्ने भएकाले अहिले नै नेपालमा पर्ने वर्षाको मात्रा र प्रभावबारे निश्चित निष्कर्ष निकाल्न कठिन हुन्छ।
उनका अनुसार प्रणालीको विकासक्रम, गति र दिशामा हुने परिवर्तनका आधारमा नेपालमा पर्न सक्ने प्रभावबारे विभागले आवश्यक समयमा आधिकारिक सूचना जारी गर्नेछ।
यसैबीच, भारतीय मौसम विभागका अनुसार उत्तर थाइल्यान्ड र म्यानमार क्षेत्रमा विकसित प्रणालीको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्न सक्नेछ। उक्त प्रणाली मध्य बंगालको खाडीतर्फ अघि बढ्दै सेप्टेम्बर २२ सम्म डिप्रेसन वा गहिरो डिप्रेसनमा परिणत हुनसक्ने अनुमान गरिएको छ।
यदि प्रणाली चक्रवातमा विकसित भएमा यो उत्तर हिन्द महासागर क्षेत्रमा सन् २०२६ को पहिलो उष्णकटिबन्धीय चक्रवात बन्न सक्नेछ। विश्व मौसम संगठनको नामकरण सूचीअनुसार त्यसको नाम ‘अर्नब’ रहनेछ, जुन नाम बंगलादेशले प्रस्ताव गरेको हो।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै मौसमविद्हरूले सर्वसाधारणलाई आवश्यक पूर्वतयारी अपनाउन तथा जल तथा मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी सूचना र बुलेटिन नियमित रूपमा हेर्न आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया