पृथ्वी राजमार्ग बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म बन्द गरिने
धादिङ । लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि धादिङ प्रशासनले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागले धादिङसहित आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जारी गरेको सूचनामा यात्रु तथा चालकलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
प्रशासनले सम्भावित जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया