शनिबार १० असोज २०८३
राजनीति

कांग्रेसको क्षेत्रीय अधिवेशन आज, अधिकांश निर्वाचन क्षेत्रमा तयारी पूरा

शनिबार असोज १०, २०८३/ Saturday 09-26-26

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज अधिकांश संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ।

पछिल्ला दिनमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति हेरफेर गरिएको छ। मौसम र स्थानीय अवस्थाअनुसार केही क्षेत्रमा असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।

पहाडी जिल्लाका केही क्षेत्रमा वर्षाका कारण बाटो अवरुद्ध भएकाले अधिवेशनको मिति केही दिन पर सारिएको छ। अधिकांश निर्वाचन क्षेत्रमा भने आजै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। महासमिति सदस्यका रूपमा प्रत्येक निर्वाचन क्षेत्रबाट १२ जना चयन गरिनेछ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ‘क’ र ‘ख’ दुवै क्षेत्रमा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गरिनेछ।

कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशनपछि प्रदेश तथा केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ।

 

तपाईको प्रतिक्रिया