बाढीको एक महिनापछि पनि खुलेन सडक सम्पर्क, ३७ पुल ध्वस्त
काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि यातायात सेवा अझै सहज हुन सकेको छैन।
त्रिशूली नदी वारपार गर्न स्थानीयले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था छ भने कतिपय स्थानमा घण्टौँसम्म पालो पर्खेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता छ।
बाढी आएको करिब एक महिना पुग्न लाग्दा पनि प्रभावित क्षेत्रमा सडक सम्पर्क पूर्ण रूपमा पुनःस्थापित हुन सकेको छैन। प्रारम्भिक विवरणअनुसार बाढीले ३७ वटा मोटरेबल पुलमा क्षति पुर्याएको छ। तीमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ।
पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटका १४, रसुवाका १३, धादिङका ५ र गोरखाको एउटा पुल रहेको छ। मोटरेबल पुलतर्फ मात्रै करिब ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
त्यस्तै, ६८ वटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ। झोलुङ्गे पुलतर्फ करिब १ अर्ब ९३ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
पुल तथा सडक संरचना भत्किएपछि स्थानीयको दैनिक जीवनसमेत प्रभावित भएको छ। खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी, बिरामीलाई अस्पताल पुर्याउने तथा विद्यार्थीको विद्यालय आवतजावतमा समेत समस्या देखिएको छ।
क्षतिग्रस्त क्षेत्रमा सडक विभाग र नेपाली सेनाले बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाएका छन्। यद्यपि स्थायी संरचना पुनर्निर्माण नभएसम्म प्रभावित क्षेत्रका बासिन्दा अस्थायी संरचना र वैकल्पिक मार्गमै निर्भर रहनुपर्ने अवस्था छ।
तपाईको प्रतिक्रिया