ढाका । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको आगलागी नियन्त्रणमा लिएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन्।
ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार काठले बनेको उक्त रिसोर्टका तीनवटै तलामा आगलागीबाट क्षति पुगेको छ।
उनका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ७ः२५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल टोली तत्काल घटनास्थल पुगेको थियो। अग्नि नियन्त्रकहरूले करिब बिहान ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।
बङ्गलादेशको राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार पर्यटकीय क्षेत्रका रूपमा परिचित छ।
आगलागीको कारण खुल्न नसकेको अधिकारीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया