आज महाअष्टमी : देशभर दुर्गा भवानीको विशेष पूजा आराधना गरिँदै
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज महाअष्टमी पर्व देशभर दुर्गा भवानीको विशेष पूजा आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । आश्विन शुक्ल अष्टमीका दिन मनाइने यस पर्वमा शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ ।
बडादसैँको आठौँ दिन मनाइने महाअष्टमीलाई देवी दुर्गाको शक्ति आराधनाको विशेष दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा यस दिन देवीको पूजा आराधना गरिन्छ ।
महाअष्टमीका अवसरमा बिहानैदेखि देशभरका देवी मन्दिर, शक्तिपीठ तथा दसैँघरहरूमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । भक्तजनहरूले दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने गर्दछन् ।
आजका दिन परम्पराअनुसार दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा विशेष पूजा र बलि दिने प्रचलन छ । धार्मिक मान्यताअनुसार देवीलाई प्रसन्न गराउन तथा आसुरी प्रवृत्तिको नाशका लागि बलि दिने परम्परा रहिआएको छ । यद्यपि, पशुबलि नदिने श्रद्धालुहरूले नरिवल, कुभिण्डो, काँक्रो, घिरौँला तथा मूलाजस्ता वस्तु अर्पण गरी प्रतीकात्मक बलि दिने गर्दछन् ।
धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्त्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ । जल, चन्दन, अक्षता तथा अन्य पूजासामग्रीद्वारा गरिने पूजा सात्त्विक, पशुबलिसहित गरिने पूजा राजस र मदिरासमेत चढाएर गरिने पूजा तामस प्रकृतिको मानिन्छ ।
उनका अनुसार वैदिक सनातन परम्पराका विभिन्न धार्मिक ग्रन्थमा पशुबलिको प्रसङ्ग उल्लेख भए पनि ब्राह्मणका लागि पशुबलि वर्जित गरिएको छ ।
महाअष्टमीको रातलाई कालरात्रिका रूपमा विशेष महत्वका साथ मनाइन्छ । यस अवसरमा देवीको विशेष पूजा, आराधना तथा परम्पराअनुसार बलि दिने गरिन्छ । कालरात्रि पूजाको विधि र सङ्कल्प अन्य दिनको पूजाभन्दा फरक हुने धार्मिक विश्वास छ ।
महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, दक्षिणकाली, वज्रयोगिनी, बज्रवाराही, बगलामुखी तथा अन्य शक्तिपीठमा विशेष पूजा आराधना गर्ने श्रद्धालुको भीड लाग्ने गर्दछ ।
त्यसैगरी उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरालगायतका प्रसिद्ध शक्तिपीठमा पनि विशेष पूजा आराधना गरिन्छ ।
महाअष्टमीका दिन घरघरमा रहेका हातहतियार, औजार, कलपुर्जा तथा सवारीसाधनको सरसफाइ गरी पूजा गर्ने परम्परासमेत छ । यी सामग्रीलाई देवीका अस्त्रशस्त्रको प्रतीक मानी पूजा गर्दा कार्यसिद्धि, सुरक्षा र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।
यस दिन नेपाली सेनाका विभिन्न एकाइ तथा परम्परागत कोतघरहरूमा समेत देवीको विशेष पूजा गर्ने चलन छ । काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक दसैँघरमा कालरात्रिका अवसरमा राज्यका तर्फबाट परम्परागत रूपमा ५४ बोका र ५४ राँगाको बलिसहित विशेष पूजा गर्ने प्रचलन रहेको छ ।
महाअष्टमीलाई शक्ति, साहस, आस्था र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वले नकारात्मक प्रवृत्तिको अन्त्य गर्दै समाजमा शान्ति, सद्भाव र सकारात्मक ऊर्जा फैलाउने धार्मिक तथा सांस्कृतिक सन्देश बोकेको छ ।
तपाईको प्रतिक्रिया