लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ
काठमाडौं । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई शनिबार ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले भट्टलाई संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार यसअघि पक्राउ परेका झापाका इनम सापकोटासँगको सम्बन्ध र अनुसन्धानका क्रममा खुलेका विवरणका आधारमा भट्टलाई नियन्त्रणमा लिइएको हो ।
सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमाथि संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
एसएसपी घिमिरेका अनुसार सापकोटाको बयान तथा उनीसँग भट्टको सम्बन्ध देखिएपछि थप अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सुशील भट्ट व्यवसायी दीपक भट्टका दाजु हुन् । दीपक भट्ट पनि हाल प्रहरी हिरासतमा रहेका छन् ।
प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूबीचको सम्पर्क, सम्भावित संलग्नता तथा संगठित अपराधसँग जोडिएका अन्य पक्षबारे अनुसन्धान अघि बढाएको छ ।
यद्यपि, भट्टमाथि लगाइएको आरोपको विस्तृत विवरण तथा अनुसन्धानबाट प्राप्त प्रमाणबारे प्रहरीले थप जानकारी सार्वजनिक गरिसकेको छैन ।
तपाईको प्रतिक्रिया