सोमबार २ कार्तिक २०८३
समाज

भोटेकोशीको बाढीले पक्की पुल बगाएको स्थानमा झोलुङ्गे पुल सञ्चालन, स्थानीयलाई राहत

आइतबार कार्तिक १, २०८३/ Sunday 10-18-26

नुवाकोट । भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि आवतजावतमा कठिनाइ भोग्दै आएका नुवाकोटका स्थानीयवासीलाई राहत मिलेको छ । विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको हो ।

गत भदौ १० गते आएको बाढीले दुईवटा पक्की पुल बगाएपछि स्थानीयवासी तुइन र जिपलाइनको जोखिमपूर्ण सहारा लिएर नदी वारपार गर्न बाध्य थिए । पुल अभावका कारण दैनिक आवतजावत, स्वास्थ्य उपचार, शिक्षा तथा अत्यावश्यक सेवामा समेत समस्या हुँदै आएको थियो ।

दसैँ, तिहारलगायतका चाडपर्वमा सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले निर्माणका केही प्राविधिक काम बाँकी रहँदै झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको हो ।

नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य संरचना निर्माण र वारपार गर्ने लट्ठा जडानको काम सम्पन्न भइसकेको छ । दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही प्राविधिक काम भने क्रमशः पूरा गरिनेछ ।

झोलुङ्गे पुल सञ्चालनमा आएसँगै विदुर नगरपालिकाका विभिन्न वडासहित किस्पाङ र म्यागङ गाउँपालिका तथा रसुवा र धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ ।

विशेषगरी त्रिशूली अस्पतालमा उपचारका लागि जाने बिरामी, विद्यालय जाने विद्यार्थी, कर्मचारी तथा दैनिक कामकाजका लागि यात्रा गर्ने सर्वसाधारणलाई पुलले ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यालयसम्मको पहुँच सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत वितरण, पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई समेत गति दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

करिब ३ करोड १८ लाख रुपैयाँ अनुमानित लागत रहेको उक्त झोलुङ्गे पुल निर्माणमा नेपाल निर्माण व्यवसायी महासङ्घले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बाँकी अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने जनाएको छ ।

बाढीले महत्वपूर्ण सडक सम्पर्क विच्छेद गरेपछि स्थानीयवासीले लामो समयदेखि वैकल्पिक पुल निर्माणको माग गर्दै आएका थिए । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै नदी वारपार गर्न जोखिमपूर्ण माध्यम प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया