काठमाडौं । निरन्तरको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल ५ ओभरमा झारिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका लागि साँझ ७:२५ बजे टस हुने र ७:४१ बजे पहिलो बल फालिने तालिका सार्वजनिक गरिएको छ।
निर्धारित समयभन्दा ढिलो सुरु हुन लागेको खेल ५ ओभरमा सीमित गरिएको हो। दुई इनिङ्सबीच १० मिनेटको ब्रेक हुनेछ।
लगातारको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल सञ्चालनमा ढिलाइ भएको थियो। मैदानको पानी निकालेर खेल सञ्चालन गर्न आयोजकले आवश्यक तयारी गरेको छ।
यसअघि आजै वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल रद्द भएको थियो। अब सुदूरपश्चिम र विराटनगरबीचको खेल ५ ओभरमा सञ्चालन हुने भएपछि दुवै टोली छोटो प्रारूपको प्रतिस्पर्धामा उत्रनेछन्।
तपाईको प्रतिक्रिया