काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाँच ओभरमा सीमित खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका स्कट कुग्गेलाइनले ६ बलमा एक चौका र चार छक्कासहित अविजित २८ रन बनाए । आरिफ शेखले आठ बलमा दुई छक्कासहित अविजित १७ रन जोडे । सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन बनाए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एक रनमा आउट भए भने शेरफेन रदरफोर्ड खाता नखोली पेभेलियन फर्किए ।
विराटनगरका आन्द्रे रसेलले दुई ओभरमा आठ रन खर्चेर एक विकेट लिए । रुपेश सिंह र एन्जेलो म्याथ्युजले पनि एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।
विराटनगरका शेहान जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्कासहित ३९ रन बनाए । लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । आन्द्रे रसेलले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए ।
सुदूरपश्चिमका अभिनाश बोहराले दुई विकेट लिए पनि विराटनगरलाई विशाल योगफल बनाउनबाट रोक्न सकेनन् ।
तपाईको प्रतिक्रिया