आइतबार १५ कार्तिक २०८३
समाज

नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका कन्टेन्ट क्रिएटर नेपालमा

आइतबार कार्तिक १५, २०८३/ Sunday 11-01-26

काठमाडौं । नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक पहिचान र पर्यटकीय सम्भावनालाई विश्वभर प्रचार गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बंगलादेश र श्रीलंकाका क्रिएटर नेपाल आएका हुन् ।

नेपाल भ्रमणका क्रममा उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय क्षेत्रको अवलोकन गरी त्यहाँका आकर्षण समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन् । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, वन्यजन्तु, स्थानीय जीवनशैली र साहसिक पर्यटनका गतिविधिलाई उनीहरूले आफ्ना सामग्रीमा प्राथमिकता दिनेछन् ।

क्रिएटरमध्ये यूएई र ट्युनिसियाका तीन जना फ्लाई दुबईको उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरूलाई पर्यटन बोर्डले पोखरामा स्वागत गरेको थियो भने अन्य सहभागीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा नेपाल भ्रमणका अनुभव सार्वजनिक गर्नेछन् । यसबाट अन्तर्राष्ट्रिय पर्यटकमाझ नेपालको पर्यटन गन्तव्यको पहिचान विस्तार हुने अपेक्षा गरिएको छ ।

भ्रमणमा सहभागी बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणबारे सामग्री बनाउनेछन् ।

त्यसैगरी, फ्रान्सका जेरेमी ब्युडेटले चितवनको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज र थारू संस्कृतिलाई आफ्नो सामग्रीमा समेट्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनको प्रचार गर्नेछन् ।

क्रिएटरहरूले भ्रमणका क्रममा स्थानीय पर्यटन व्यवसाय, होटल तथा आतिथ्य सेवा, खानपान र साहसिक गतिविधिका साथै पर्यटकले प्राप्त गर्न सक्ने मौलिक अनुभवलाई समेत प्रस्तुत गर्ने थपलियाले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त सहकार्यलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट निर्माण कार्यशाला सम्पन्न भएको थियो ।

सामाजिक सञ्जालमा वास्तविक यात्रा अनुभव, आकर्षक दृश्य र स्थानीय कथाहरू प्रस्तुत गर्दा विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने पर्यटन बोर्डको विश्वास छ । विशेषगरी युवापुस्तामाझ लोकप्रिय टिकटकका छोटा भिडियोमार्फत नेपालका पर्यटकीय गन्तव्यको प्रचार व्यापक बनाउनुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया