कांग्रेस–एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी सरकारमा जाने विषयमा छलफल नभएको बताएका छन्।
सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सरकारमा जान लागेको भनेर बाहिर हल्ला चलाइएको जस्तो कुनै नीति नभएको बताएका हुन्।
अब कांग्रेस, एमाले र माओवादी तीनटा मिलेर सरकार बनाउने भए रे भन्ने चर्चा चलेको छ। हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं। कसैसँग औपचारिक कुरा पनि भएको छैन। टीआरसीसँग सम्बन्धित विषयमा कुरा गर्नु नै पर्छ। गरि पनि राखेको छु । तर सरकार बनाउने पक्षमा हामी बिल्कुल छैनौं,' उनले भने।
प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि यही सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे ।
कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्दै बाहिर आएका चर्चामा सत्यता नरहेको उनले बताए । उनले कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउने उद्देश्यले सरकार बनाएको भन्दै वर्तमान सरकारप्रति सुरुदेखि नै विमति रहेको धारणा राखे ।
प्रचण्डले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भएको भन्दै सबै मिलेर त्यसको प्रतिवाद गरेर उपलब्धिलाई जोगाउनुपर्नेमा जोड दिए । राजावादीको क्रियाकपाल संविधानविपरीत भएको र जनतालाई फेरि एकचोटि रैती बनाउनेतिर प्रेरित रहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया