आइतबार ३१ चैत २०८१
समाज

वैशाख २२ गते डा.जगमान गुरूङसहित राजावादीहरुले सामूहिक गिरफ्तारी दिने

बुधबार चैत २७, २०८१/ Wednesday 04-09-25

काठमाडौँ ।  राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् । 

‘वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने हाम्रो बन्दी बनाइएका साथीहरुलाई मुक्त गरेन भने २२ गते हामीहरुले तीनकुनेमा सहादत प्राप्त गर्नुभएको वीर सहिदहरुको रगतले लुट्पुटिएको माटोको टीका लगाएर सामूहिक गरिफ्तारी दिने हो । सबैभन्दा पहिला मै हिँड्छ् । म ७८ वर्षको बुढो, सुगरको रोगी, त्यो माटोको टीका लगाएर सबैभन्दा पहिला मै हिँड्छु,’– उनले भने ।

उनले आफूहरु आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने पनि बताए । डा.गुरुङले अबको आन्दोलन आफूहरुको तर्फबाट (भद्र अवज्ञा) शान्तिपूर्ण हुने बताए । ‘भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ । तिनीहरु भन्दा हामी विशिष्ट हुनुपर्छ । २१ गते हाम्रो घोषणा हुन्छ । २२ गते हामी सामूहिक गिरफ्तारी दिने हो,’– उनले भने ।

उनले राजसंस्थाको पुनर्स्थापनाका लागि गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया