शनिबार २३ फाल्गुण २०८२
बिजनेस

नेपाली सेनाबाट बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

बिहीबार असार २६, २०८२/ Thursday 07-10-25

बाजुरा । समुद्री सतहदेखि ४,२२० मिटर उचाइमा अवस्थित पवित्र बडीमालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सम्पन्न गरेको छ।

त्रिवेणी नगरपालिकाको वडानम्बर ६, ७ र ९ सम्म फैलिएको बडीमालिका क्षेत्रमा अवस्थित मन्दिरको गत चैत २८ गतेदेखि सुरू भएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

पुनर्निर्माण कार्य पुरातत्व विभागको स्वीकृत डिजाइन, त्रिवेणी नगरपालिकाको समन्वय तथा भक्तपुर र ललितपुरका सीपयुक्त कालिगढहरूको सहयोगमा परम्परागत शैलीमा गरिएको हो।

निर्माणको अवधिभर मन्दिर श्रद्धालुहरूको लागि खुला राखिएको थियो। बडीमालिका मन्दिरसँग राजा दीपराज छत्याल र मालिकादेवी बीचको दैवी साक्षात्कार जोडिएको पौराणिक कथा प्रचलित छ।

धार्मिक परम्परा अनुसार सतीदेवीको बाँया कुम खसेको यही पवित्र स्थलमा मालिका देविको आदेशअनुसार राजा दीपराज छत्यालले मन्दिर निर्माण गरेका थिए।

बडीमालिका दर्शनपछि त्रिवेणी नगरपालिकामै पर्ने नाटेश्वरी मन्दिरमा पूजा गर्दा भक्तजनको मनोकामना र भाकल पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

 

 

तपाईको प्रतिक्रिया