काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ। बैठकले तीनवटा प्रमुख निर्णयहरू गरेको छ।
बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता टुंग्याउन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, २०७५ भदौ १ मा गरिएको निर्णय संशोधन गर्दै महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान को ११४ रोपनी ३ आना जग्गा पुनः सोही संस्थाले प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ। यसअघि उक्त जग्गा राष्ट्रपतिको कार्यालय का नाममा हस्तान्तरण गर्ने निर्णय गरिएको थियो।
साथै, सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अतिक्रमित सुकुम्बासी बस्ती हटाउने विषयमा भने यस बैठकमा कुनै छलफल भएन।
तपाईको प्रतिक्रिया