विदेशी नागरिकको आवागमन र गतिविधि ‘ट्र्याकिङ’ गर्ने तयारी
काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकहरूको ट्र्याकिङ सुरु गरेको छ। अध्यागमन विभागले अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको हो ।
विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको दर्ता तथा अनुगमन प्रणाली विकास गर्दै कार्यान्वयनमा लैजाने जानकारी दिएको छ।
अध्यागमन विभागले मंगलबार सूचना जारी गर्दै विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली विकास गरिएको र आगामी असोज १ बाट काठमाडौं उपत्यकामा कार्यान्वयनमा लैजाने उल्लेख गरेको छ।
विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालका अनुसार यो प्रणाली पहिलो चरणमा २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू गरिनेछ।
त्यस्तै दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जरहरूमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ।
विभागले अध्यागमन ऐन २०४९ र नियमावली २०५१ अनुसार नेपालभित्र विदेशीहरूको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने एवम् नेपाली नागरिकहरूको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्ने कार्य अध्यागमन प्रशासनको मुख्य काम भएको बताएको छ।
तपाईको प्रतिक्रिया