असोजमै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य, पाँच होटल भास्सिए
सोलुखुम्बु । सगरमाथा क्षेत्र असोजमै परेको असामान्य हिमपातले खुम्बु पासाङल्हामु गाउँपालिकाको माथिल्लो भूभाग सेताम्य बनेको छ। असोजको तेस्रो सातामै परेको हिउँले पर्यटन याम प्रभावित भएको छ।
गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षा र हिमपातपछि नाम्चेभन्दा माथिल्ला दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र हिउँले ढाकिएका छन्। वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार केही ठाउँमा चार फिटभन्दा बढी हिउँ जमेको छ।
हिमपातका कारण दिङ्बोचे क्षेत्रका पाँच होटल जस्ताको छानो भत्किएर भास्सिएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले असोज महिनामा हिउँ पर्नु दुर्लभ घटना भएको बताए। उनका अनुसार यस्तो असामान्य मौसम परिवर्तन जलवायु परिवर्तनको संकेत हो।
हिमपातपछि खुम्बुमा दैनिक जीवन प्रभावित भएको छ। तापक्रम घटेसँगै चिसो बढेको छ भने निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम पनि रोकिएको छ। मौसम अनुकूल भएपछि मात्रै काम पुनः सुरु गरिने गाउँपालिकाले जनाएको छ।
तपाईको प्रतिक्रिया