शनिबार २३ फाल्गुण २०८२
जीवनशैली

स्वास्थ्यकर्मीको पारिश्रमिक र सुविधा सुनिश्चित गर्न मन्त्रालयको पाँच बुँदे निर्देशन

सोमबार असोज २७, २०८२/ Monday 10-13-25

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङकर्मी तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सुविधा सुनिश्चित गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले देशभरका सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै तोकिएका सुविधा तत्काल कार्यान्वयनमा ल्याउन आदेश दिएको हो ।

मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राजकुमार पाण्डेले जारी गरेको निर्देशनपत्रमा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक, अतिरिक्त भत्ता र सेवा सुविधा सम्बन्धी पाँचवटा बुँदामा व्यवस्था स्पष्ट गरिएको छ ।

निर्देशन अनुसार स्वास्थ्य संस्थाहरूले कार्यरत सबै नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी सुविधा दिनुपर्नेछ । साथै, तोकिएको समयभन्दा बढी काम गरेबापत अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्नेछ ।

मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई करार प्रणाली (नियुक्ति सम्झौता) अन्तर्गत मात्र कर्मचारी राख्न सकिने र ज्यालादारीमा काम गराउन नपाइने व्यवस्था पनि गरेको छ । साथै, कर्मचारीका सक्कल शैक्षिक प्रमाणपत्रहरू कार्यालयले राख्न नपाइने र सबै पारिश्रमिक वैकिङ प्रणालीमार्फत उपलब्ध गराउनुपर्ने भनिएको छ ।

मन्त्रालयले निर्देशन कार्यान्वयन नगरेका संस्थाहरूलाई तुरुन्त कार्यान्वयनमा ल्याउन र त्यसको प्रगति प्रतिवेदन मन्त्रालयमा बुझाउन समेत आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया