विपन्न र असहायका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना हुने
काठमाडौँ । विपन्न, असहाय र वेवारिसे व्यक्तिको निशुल्क उपचार सेवा प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ।
यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक के.सी. र वीर अस्पतालका निर्देशक प्रा. डा. दलीप शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ भने महानगरपालिकाले नर्सिङ विषय अध्ययन गरेका तीन जनालाई करार सेवामा राखी पारिश्रमिक उपलब्ध गराउनेछ।
सहजीकरण कक्षबाट महानगरपालिकाको freehealth.kathmandu.gov.np प्रणालीमार्फत उपचारका लागि आएका बिरामीहरूलाई निजी तथा सामुदायिक अस्पतालमा पठाउने व्यवस्था हुनेछ।
महानगरपालिकाले २०८० साल फागुन १ गतेदेखि लक्षित वर्गका लागि निशुल्क उपचार सेवा सञ्चालन गर्दै आएको छ, जसको संयोजन जनस्वास्थ्य निरीक्षकले गरिरहेका छन्। यो सेवाबाट देशभरका बिरामीहरूले रोगको निदानदेखि शल्यक्रिया र आकस्मिक उपचारसम्म सुविधा पाउनेछन्।
लक्षित वर्गले तीन विधिमध्ये कुनै एक बाट सेवा प्राप्त गर्न सक्नेछन् —
१. विपन्न परिचयपत्र भएका व्यक्तिले सिधै अस्पतालमा उपचार लिन सक्ने,
२. परिचयपत्र नभएका व्यक्तिले वडाको सिफारिस र सर्जमिन मुचुल्कासहित कागज पेश गर्नुपर्ने,
३. यी दुवै नहुनेले महानगरको सहजीकरण एकाइमा सम्पर्क गरी प्रमाणित सिफारिस लिन सक्ने।
हालसम्म यो सेवामार्फत हर्निया, हाइड्रोसिल, पाठेघर, पित्तथैलीको पत्थरी, मिर्गौलाको पत्थरी, हाडजोर्नी, नाक–कान–घाँटीका शल्यक्रिया, मधुमेह, उच्च रक्तचाप, क्षयरोग, कलेजो रोग, दम, नशा र स्नायु सम्बन्धी उपचारमा बिरामीहरूले लाभ लिएका छन्।
महानगरको यस प्रणालीमा हाल निजी क्षेत्रका ५३ वटा अस्पताल आवद्ध छन्, जसमा ३८० शय्या सेवाका लागि छुट्याइएको महानगरले जनाएको छ।
तपाईको प्रतिक्रिया