बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
काठमाडौँ । बलिउडका प्रतिष्ठित अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार, ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
धर्मेन्द्रले सन् १९६० मा अभिनय यात्रा सुरु गरेका थिए र करिब ३०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। उनी ‘शोले’मा वीरूको चर्चित भूमिकाका लागि प्रख्यात छन्। यसबाहेक ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’जस्ता फिल्महरूले उनको अभिनयकला सदाबहार बनाएको छ। रोमान्टिकदेखि एक्सनसम्मका भूमिकामा धर्मेन्द्रले बलियो छाप छोडेका थिए।
उनले सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान प्राप्त गरेका थिए। पछिल्लो समय उनी ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’मा देखा परेका थिए। उनका अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ, जसको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो।
धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनी, छोराहरू सनी र बबी देओल र छोरीहरू ईशा तथा आहाना देओल छन्।
तपाईको प्रतिक्रिया