शनिबार २३ फाल्गुण २०८२
प्रविधी

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

बिहीबार मङ्सिर १८, २०८२/ Thursday 12-04-25

काठमाडौँ । सर्वसाधारणका लागि काठमाडौँको रत्नापार्कमा अब निःशुल्क इन्टरनेट उपलब्ध हुने भएको छ। 

महानगरपालिकाको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका ६ वटा राउटरमार्फत ५०० एमबिपिएस क्षमताको इन्टरनेट जडान कार्य अघि बढ़ाइरहेको छ। शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठका अनुसार मंसिरभित्रै रत्नापार्कका सबै भागमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ।

आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँ लगानीमा पुनर्निर्माण र व्यवस्थित भएपछि रत्नापार्कको स्वरूप निकै बदलिएको छ। अहिले वृद्धवृद्धादेखि युवायुवतीसम्म घाम ताप्न, फुर्सदको समय बिताउन र तस्बिर खिच्न यहाँ आउने संख्या बढ्दै गएको छ।

रत्नापार्कमा प्रवेशका लागि विद्यार्थीले २० रुपैयाँ, सर्वसाधारणले ३० रुपैयाँ र सार्क तथा विदेशी पर्यटकले १०० रुपैयाँ तिर्नुपर्छ। क्यामेरा लिएर प्रवेश गर्दा छुट्टै शुल्क तोकिएको छ—व्यक्तिगत क्यामेराका लागि १०० रुपैयाँ, विवाह फोटो सुटका लागि ५००, व्यावसायिक फोटोका लागि १५००, दोहोरी गीत म्युजिक भिडियो सुटिङका लागि पाँच हजार रुपैयाँ। महानगरले वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म रत्नापार्कबाट आम्दानी गर्दै आएको छ।

साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जनाले रत्नापार्क प्रवेश गरेका छन्। तीमध्ये १२ हजार ८५० विद्यार्थी रहेका छन् भने बाँकी सर्वसाधारण हुन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई भने निःशुल्क प्रवेश सुविधा छ। चार महिनामा पार्कबाट १८ लाख १४ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

हाल पार्कमा दैनिक ५०० देखि एक हजार व्यक्तिसम्म घुम्न आउने गरेका छन्। शनिबार तथा बिदाका दिनमा यो संख्या अझ बढ्ने उद्यानका प्रमुख उत्तमकुमार घले बताउँछन्। पार्कभित्र मानिसहरू घाम ताप्ने, गफ गर्ने, विद्यार्थी खेल्ने तथा युवायुवतीले तस्बिर खिच्ने मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।

पार्कमा बस्नका लागि कुर्सी, सेटबक्स, सार्वजनिक शौचालय तथा शंखधर र पद्मरत्न तुलाधरलगायतका स्मारक राखिएका छन्। तर हाल पानीको अभावका कारण बोटबिरुवा संरक्षणमा समस्या भइरहेको उद्यान प्रमुख घले बताउँछन्। ट्यांकरमार्फत पानी ल्याएर दिइनुपर्ने स्थिति छ। निकट भविष्यमा उद्यानभित्र पानीको फोहोरा सञ्चालन गर्ने योजनासमेत महानगरले अघि सारेको छ। रासस

तपाईको प्रतिक्रिया