सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सातवटा पुराना ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा जोडिएका छन्। विद्युत् प्रणालीलाई आधुनिक, स्मार्ट र स्वचालित बनाउने दीर्घकालीन योजनाअन्तर्गत १३ वटा ग्रिड सब स्टेसनलाई स्वचालित बनाउन कार्य सुरु गरिएको थियो।
अहिले पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरका सब स्टेसन स्वचालित प्रणालीमा आबद्ध भइसकेका छन्। यी सब स्टेसन अब मिनभवनस्थित प्राधिकरणको नयाँ निर्माण गरिएको नियन्त्रण कक्षबाट नियन्त्रित हुनेछन्।
बाँकी स्युचाटार, टेकु, मातातीर्थ, चावहिल, के ३ र लामासाँघु गरी छवटा सब स्टेसन दुई महिनाभित्र स्वचालित प्रणालीमा जोडिने प्राधिकरणले जनाएको छ। स्वचालित सब स्टेसन स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरवाइजरी नियन्त्रण र डेटा प्राप्ति मार्फत जोडिँदा प्रणालीको एकिकृत सञ्चालन थप मजबुत र स्थिर हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, सब स्टेसन पूर्ण रूपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत् अवरोध घट्नेछ, वास्तविक समयको तथ्याङ्क प्रयोग गरेर भार व्यवस्थापन सहज हुनेछ, सञ्चालन खर्च र प्राविधिक क्षति कम हुनेछ र स्मार्ट ग्रिड विकासमा सहयोग पुग्नेछ। साथै, स्वचालित प्रणालीमा कर्मचारीको भौतिक उपस्थिति आवश्यक नहुने बताइएको छ।
एशियाली विकास बैंक (एडिबी)को सहुलितपूर्ण ऋणमार्फत सब स्टेसन स्वचालित बनाइएको हो। हालसम्म सात सब स्टेसनमा ६१ करोड रुपैयाँ लागत भएको छ। देशभरका बाँकी ६४ ग्रिड सब स्टेसन पनि आगामी डेढ वर्षभित्र स्वचालित बनाइने लक्ष्य राखिएको छ।
तपाईको प्रतिक्रिया