हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अघि सारेको छ। यसअनुसार कम्पनीले नगद लाभांश वितरणका लागि कुल २० करोड १२ हजार ५९२ रुपैयाँ छुट्याएको छ।
कम्पनीका अनुसार प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भएपछि आगामी ३२ औँ वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपश्चात् कम्पनीले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने जनाएको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालसम्मको वित्तीय कार्यसम्पादन सन्तोषजनक रहेको उल्लेख गर्दै जोखिम व्यवस्थापन, बीमा व्यवसाय विस्तार तथा सेवा गुणस्तरमा गरिएको सुधारका कारण मुनाफा वृद्धि सम्भव भएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि बीमा सेवा प्रभावकारी बनाउँदै शेयरधनीको हित सुरक्षित गर्ने दिशामा निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया