बिजनेस
भद्रपुर विमान दुर्घटना : ६ यात्रु डिस्चार्ज, सहचालकको उपचार जारी
शनिबार पौष १९, २०८२/ Saturday 01-03-26
झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा घाइते भएका सातमध्ये छ जना यात्रु उपचारपछि घर फर्किएका छन्।
टाउको र अनुहारमा चोट लागेका २४ वर्षीय सहचालक सुशान्त श्रेष्ठको भने अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना घाइते भएका थिए।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ (कलसाइन ९०१) जहाज अवतरणका क्रममा रन–वेबाट करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जहाजमा ५१ यात्रु, चार चालक दलका सदस्य र एक इन्जिनियर सवार थिए। दुर्घटनापछि प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा खटिएको टोलीले सबै यात्रुको सुरक्षित उद्धार गरी घाइतेलाई अस्पताल पुर्याएको थियो।
तपाईको प्रतिक्रिया