बुधबार ६ श्रावण २०८३
राजनीति

कांग्रेसमा नयाँ मोड: बीपी स्मृति दिवसमै नयाँ पार्टी गठनको बहस सुरु

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26

काठमाडौं। जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ। संस्थापन र संस्थापनइतर पक्षले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेपछि पार्टीभित्रको गुटगत ध्रुवीकरण खुला रूपमा देखिएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा संस्थापनइतर पक्षका नेताहरूले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक दल गठनसम्मको बहस अघि सारे। नेता मोहनबहादुर बस्नेतले सहमतिको सम्भावना सकिएको दाबी गर्दै वैकल्पिक राजनीतिक अभियान सुरु गर्नुपर्ने बताए।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सभापति गगन थापामाथि बाह्य प्रभाव र भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लगाए भने आवश्यक परे नयाँ पार्टी गठनका लागि तयार हुन नेतृत्वलाई आग्रह गरे।

यस्तै, नेता कुन्दन काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाको आलोचना गरे भने शंकर भण्डारीले राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्थाबारे पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरे।

बीपी स्मृति दिवसमै कांग्रेसका दुई पक्षले अलग–अलग कार्यक्रम आयोजना गर्नु र नयाँ पार्टी गठनसम्मको बहस सार्वजनिक रूपमा उठ्नुले कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ चरणमा पुगेको संकेत गरेको छ.

 

तपाईको प्रतिक्रिया