महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकारजस्ता विविध क्षेत्रलाई समेट्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
यसै क्रममा बैंकले लायन्स क्लब अफ काठमाडौं ज्ञानेश्वरसँगको सहकार्यमा ललितपुर महानगरपालिका वडा नं. २१ स्थित खोकनाको गन्धकुटी विहार परिसरमा बृहत् स्वास्थ्य शिविर सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ। उक्त शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सरजस्ता रोगको पहिचान, मधुमेह तथा थाइराइड परीक्षण, सामान्य स्वास्थ्य जाँच तथा दन्त परीक्षण सेवा प्रदान गरिएको थियो।
त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथको व्यवस्थित प्रयोग तथा जथाभावी पार्किङ समस्या समाधानका उद्देश्यले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्ज, काठमाडौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतसहितका रोड फर्निचरहरू हस्तान्तरण गरिएको छ।
बैंकले दलित सशक्तिकरण केन्द्र नेपालसँगको सहकार्यमा परम्परागत व्यवसायिक सीप, पेशा तथा कलाको संरक्षण, आधुनिकीकरण र प्रमाणीकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक उपार्जनमा टेवा पुर्याउने उद्देश्यले हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं. १ देखि ६ सम्मका स्थानीय व्यक्तिहरूलाई सिलाई मेसिन वितरण गरेको छ।
यसैगरी, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–०९ स्थित भानपथमा रहेको भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ। खेलमैदानमा भास्टा राखी रोलिङ गरी पानीको उचित निकास सुनिश्चित गर्न आवश्यक निर्माण कार्यमा बैंकले सहयोग गरेको हो।
महालक्ष्मी विकास बैंकले सञ्चालन गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया