शुक्रबार ६ चैत २०८२
समाज

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौं । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसिरहेका २० जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ। कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली संघको समन्वयमा उनीहरूलाई नेपाल ल्याइएको हो।

दूतावासका अनुसार चैत ४ गते कम्बोडियाबाट पठाइएका ती नागरिक शुक्रबार (चैत ५) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्।

ती नेपालीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूलाई अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको दूतावासले जानकारी दिएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि उद्धार गरी स्वदेश फर्काउने प्रयास जारी रहेको उल्लेख गरिएको छ।

कम्बोडियामा केही नेपाली नागरिकलाई अनलाइन ठगीजस्ता गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ। त्यहाँ समस्यामा परेका नेपालीलाई आवश्यक परेमा +८५५ १२ २१५ ५७८, +८५५ ९३ २०३ ६६६ र +८५५ ९६ ३४६ ५७८८ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

दूतावासका अनुसार स्क्यामिङ केन्द्रमा काम गर्ने क्रममा धेरै नेपालीको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने गरेको गुनासो आएको छ। यस्तो अवस्थामा उद्धारका लागि बैंककस्थित नेपाली दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।

पर्यटन तथ्यांकअनुसार, सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए। यो संख्या २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा बढेर ९,६७६ पुगेको छ।

दूतावासले वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिन अनिवार्य रहेको स्मरण गराउँदै छिटो कमाइको लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता देशमा भ्रमणको बहानामा नजान आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया