शुक्रबार ६ चैत २०८२
समाज

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौँ । महानायक राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार गरिएको घटना सार्वजनिक भएको छ। उनको तस्बिर प्रयोग गरी बनाइएको भनिएको एक वृत्तचित्रका नाममा सरकारी रकम हिनामिना गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रकरण बाहिर आएको हो।

अख्तियारले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ। सोही मुद्दामा रामजी लम्साल (रामबहादुर लम्साल)लाई पनि प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो, जसबाट १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी भइसकेको थियो। तर, उक्त प्रक्रियामा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन भएको पाइएको छ।

अनुसन्धानबाट बिना प्रतिस्पर्धा सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमा नाघ्दै ३५ प्रतिशतसम्म पेस्की दिइएको तथा बैंक ग्यारेन्टीबिनै रकम भुक्तानी गरिएको तथ्य खुलेको छ। साथै, पेश गरिएका बिलहरू शंकास्पद तथा नक्कली रहेको र काम नगरी नै रकम हिनामिना गरिएको आरोप पनि लगाइएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यो कार्य मिलेमतोमा योजनाबद्ध रूपमा गरिएको ठहर गरिएको छ। गाउँपालिका अध्यक्ष साउदले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिन खोजेको भन्दै उनीमाथि थप सजायको माग गरिएको छ।

आयोगले अन्य प्रतिवादीहरूमाथि पनि भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुलउपरसहित कडा कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया