खोटाङ । खोटाङ जिल्लामा एयर डाइनेष्टिको एक हेलिकप्टर दुर्घटनामा परेको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौँबाट शव लिएर आउँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परेको हो।
केपिलासगढी गाउँपालिका–२ स्थित बालावेशी क्षेत्रमा मंगलबार दिउँसो करिब १२:०२ बजे नाइन एन–एएचक्यु दर्ता नम्बरको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। हेलिकप्टरका चालक सविन थापासहित पाँच यात्रु सवार थिए।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हेलिकप्टर अवतरणकै क्रममा तीव्र हावाका कारण नियन्त्रण गुमाएर भित्तामा ठोक्किँदा पल्टिएको थियो।
दुर्घटनामा स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनलाई उपचारका लागि अर्को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। चालक थापासहित अन्य यात्रुहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया