निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले गरिन् नेकपाको प्रशंसा
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूसँग भेट गर्दै हालै सम्पन्न निर्वाचन सफल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेकी छन्। उनले बालुवाटारमा आयोजित छलफलमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत नेताहरूलाई बोलाएकी थिइन्।
प्रधानमन्त्री कार्कीले नेताहरूले निर्वाचनमा सहभागिता जनाउँदै सकारात्मक वातावरण निर्माण गरेको र देशलाई लोकतान्त्रिक प्रक्रियामार्फत अगाडि बढाउन सहयोग पुर्याएको भन्दै आभार प्रकट गरिन्। साथै उनले चुनावमा विजयी भएकाहरूलाई बधाई दिँदै पराजित उम्मेदवारहरूलाई आगामी अवसरका लागि शुभकामना समेत दिइन्।
उता नेकपाका नेताहरूले पनि प्रधानमन्त्रीको नेतृत्वमा निर्वाचन सम्पन्न भई मुलुकले स्थिरता र निकास पाएको भन्दै प्रशंसा गरेका छन्। संयोजक पुष्पकमल दाहालले निर्वाचन नहुने अवस्था आएको भए देश गम्भीर संकटतर्फ जान सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीको साहस र प्रयासको सराहना गरे। उनले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा दृढ रहेको पनि बताए।
त्यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुशीला कार्की प्रधानमन्त्री बन्ने खबर सुन्दा राहत महसुस भएको तर पछि नआउने चर्चा चलेपछि चिन्ता बढेको स्मरण गरे। अन्ततः कार्कीले जिम्मेवारी सम्हालेपछि संविधान र व्यवस्था जोगिने विश्वास पुनः बलियो बनेको उनले बताए।
नेताहरूले अस्थिर परिस्थितिमा छोटो समयमै निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको दृढता, इमानदारी र नेतृत्व क्षमताका कारण सम्भव भएको निष्कर्ष व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया