शुक्रबार ६ चैत २०८२
राजनीति

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ चैत १२ गते

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण आगामी चैत १२ गते हुने तय भएको छ। संघीय संसद सचिवालयले बिहीबार सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै सो दिन दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम गर्ने तयारी गरिएको जनाएको हो।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा शपथ ग्रहण प्रक्रिया, नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलका कार्यालय व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको थियो।

उनले शपथ ग्रहणअघि ज्येष्ठ सदस्यको पहिचान गरिने र सोही सदस्यले पहिलो चरणमा राष्ट्रपति समक्ष शपथ लिने जानकारी दिए। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था हुनेछ।

प्रवक्ता गिरीले नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा व्यवहारिक पक्षलाई बढी प्राथमिकता दिनुपर्ने सुझाव दलहरूबाट आएको बताए।

संसदीय दलका कार्यालय व्यवस्थापनका सन्दर्भमा भने स्थान अभावका कारण केही चुनौती रहेको उल्लेख गर्दै उपलब्ध स्रोतअनुसार व्यवस्थापन गरिएको उनले जानकारी दिए। छलफलपछि सचिवालयले दलका प्रतिनिधिहरूलाई कार्यालय स्थलसमेत अवलोकन गराएको थियो।

उनका अनुसार सदस्य संख्या बढी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएको छ।

तपाईको प्रतिक्रिया