बिहीबार १० बैशाख २०८३
प्रवास

खाडीमा अलपत्र नेपाली उद्धार गर्न आजदेखि विशेष उडान

शुक्रबार चैत २०, २०८२/ Friday 04-03-26

काठमाडौँ । सरकारले खाडी क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि विशेष उडान सञ्चालन गर्ने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाइन्समार्फत आजदेखि तीन दिनसम्म चार वटा विशेष उडान सञ्चालन गरिनेछ। मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नियमित हवाई सेवा प्रभावित भएपछि स्वदेश फर्किन चाहने नेपालीलाई लक्षित गर्दै सरकारले उद्धार उडानको व्यवस्था गरेको हो।

मन्त्रालयका अनुसार आज बेलुकी काठमाडौँबाट नेपाल वायुसेवा निगमको जहाज दुबईका लागि प्रस्थान गर्नेछ। उक्त उडानमार्फत यसअघि नै टिकट बुक गराएका तथा स्वदेश फर्किन इच्छुक नेपाली नागरिकलाई समयमै सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

यसैगरी, भोलि दुबईबाट जहाज काठमाडौँ फर्कने कार्यतालिका रहेको छ। त्यस्तै, पर्सि अर्थात् २२ गते काठमाडौँबाट अर्को जहाज साउदी अरबको दमाम जाने र सोही दिन नेपाली नागरिक लिएर स्वदेश फर्किने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीमध्ये कति जना तत्काल स्वदेश फर्कन इच्छुक छन् र आगामी तीन दिनभित्र कसरी सुरक्षित रूपमा फर्काउन सकिन्छ भन्ने विषयमा सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले समन्वय र गृहकार्य गरिरहेका छन्।

मध्यपूर्वमा जारी युद्ध तथा सुरक्षा चुनौतीका कारण ती क्षेत्रमा नियमित उडान प्रभावित हुँदा ठूलो संख्यामा नेपाली नागरिक स्वदेश फर्किन नपाई अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। सरकारले प्राथमिकताका आधारमा उनीहरूको उद्धार प्रक्रिया अघि बढाएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया