बिहीबार १० बैशाख २०८३
प्रविधी

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

आइतबार चैत २२, २०८२/ Sunday 04-05-26

काठमाडौं ।  काठमाडौंमा अनलाइन सट्टेबाजी नियन्त्रण गर्न सरकारले कडा कदम चालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी हालसम्म ७ हजारभन्दा बढी अवैध सट्टेबाजीसम्बन्धी एप र वेबसाइट बन्द गरेको जनाएको छ।

मन्त्रिपरिषद्को चैत १३ को निर्णयअनुसार २४ घण्टाभित्र यस्ता प्लेटफर्म बन्द गर्ने कार्यसूची लागू गरिएको हो।

प्राधिकरणका अनुसार पछिल्लो एक सातामा टेलिफोन, इमेल र सन्देशमार्फत ५० भन्दा बढी गुनासा आएपछि निगरानी र कारबाही थप कडा बनाइएको छ।

अवैध सट्टेबाजी प्लेटफर्महरू प्रायः वित्तीय ठगी, रकमको गैरकानुनी स्थानान्तरण र साइबर अपराधसँग जोडिने भएकाले यस्तो कदम चालिएको बताइएको छ। यस्ता गतिविधिले बैंकिङ प्रणाली र सर्वसाधारणको बचतमा समेत जोखिम बढाउने चिन्ता व्यक्त गरिएको छ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन।

उल्लङ्घन गरेमा रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। साथै, विज्ञापन ऐनले यस्ता गतिविधि प्रोत्साहन गर्ने प्रचार–प्रसार पनि निषेध गरेको छ।

सरकारले सर्वसाधारणलाई यस्ता एप वा वेबसाइट प्रयोग नगर्न, आफ्नो बैंक तथा व्यक्तिगत विवरण सुरक्षित राख्न र शङ्कास्पद प्लेटफर्मबारे सम्बन्धित निकायमा जानकारी दिन पुनः आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया