खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँले बढाइएको छ।
त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ भने एलपी ग्यासमा प्रतिकिलो (सिलिन्डर) १०० रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ। आन्तरिक हवाइ इन्धनमा पनि प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः २१६ रुपैयाँ ५० पैसा, २१८ रुपैयाँ र २१९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल तथा मट्टितेलको मूल्य पनि वर्गअनुसार २०५ रुपैयाँ ५० पैसा, २०६ रुपैयाँ र २०७ रुपैयाँ प्रतिलिटर पुगेको छ।
एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २०१० रुपैयाँ निर्धारण गरिएको छ भने हवाइ इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ पुगेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारअनुसार अझै पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाउँदै, हालको समायोजनपछि पनि निगमलाई पाक्षिक करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा रहेको बताइएको छ।
तपाईको प्रतिक्रिया