काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा पर्न सफल भएको छ।
बेलायतस्थित प्रतिष्ठित म्यागजिन डिजे म्याग ले सार्वजनिक गरेको ‘उत्कृष्ट १०० क्लब’ सूचीमा एलओडीले यो स्थान हासिल गरेको हो।
प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई उक्त सूची प्रकाशन हुँदै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट ५०० भन्दा बढी क्लब सहभागी भएका थिए।
एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यस उपलब्धिलाई देशकै गौरवको विषय भएको बताएका छन्। उनले एलओडीको पहिचान केवल क्लबको सफलतामा मात्र सीमित नभई नेपाललाई विश्व संगीत तथा मनोरञ्जन क्षेत्रमा चिनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गरे।
उनका अनुसार पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावना अझ उजागर गरेको छ।
एलओडी क्लब यसअघि सन् २०२५ मा ४४औँ स्थानमा रहेको थियो भने २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थानमा परिसकेको छ।
तपाईको प्रतिक्रिया