बिहीबार १० बैशाख २०८३
खेलकुद

आर्मीले तेस्रोपटक जित्यो प्रधानमन्त्री कपको उपाधि

शुक्रबार बैशाख ४, २०८३/ Friday 04-17-26

काठमाडौं ।त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि तेस्रोपटक आफ्नो नाममा लेखाएको छ।

शुक्रबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो। यसअघि आर्मीले २०१७ र २०२१ मा पनि उपाधि जितिसकेको थियो।

फाइनलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो। आर्मीको जितमा इम्रान शेख ४६ रनमा अविजित रहँदा बसिर अहमदले ४५ रनको महत्वपूर्ण योगदान दिए। यी दुईले १०.३ ओभरदेखि ३२.१ ओभरसम्म ९६ रनको साझेदारी गर्दै टोलीलाई जितको दिशामा अगाडि बढाएका थिए।

त्यसअघि ओपनर तृतराज दासले ३१ रन बनाउँदा कुशल मल्लले १७ रन थपे। सुदूरपश्चिमका लागि हेमन्त धामीले दुई विकेट लिए भने विकास आग्री, शेर मल्ल र आशोक धामीले समान एक–एक विकेट हात पारे।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो। टोलीका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाउँदा किरण ठगुन्नाले ३५ रन जोडे। नारायण जोशीले २९ तथा हेमन्त धामीले १६ रनको योगदान दिएका थिए।

आर्मीका बलर आकाश चन्द र साहब आलमले समान तीन–तीन विकेट लिए भने बसिर अहमदले दुई र कुशल मल्लले एक विकेट लिए।

 

तपाईको प्रतिक्रिया