बिहीबार १० बैशाख २०८३
शिक्षा

विद्यार्थीले अब घरबाटै एनओसी लिन सक्ने

आइतबार बैशाख ६, २०८३/ Sunday 04-19-26

काठमाडौं । वैदेशिक अध्ययन प्रक्रियालाई सहज बनाउने नयाँ व्यवस्था लागू गरिएको छ। अब विदेश पढ्न जाने विद्यार्थीहरूले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरमै बसेर अनलाइनमार्फत प्राप्त गर्न सक्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले आफ्नो सेवा पूर्ण रूपमा डिजिटल बनाउने क्रममा एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय सँग एपीआईमार्फत जोडेको छ। यसका लागि वैशाख ४ गते त्रिविसँग औपचारिक सम्झौता गरिएको थियो भने केयूसँग भने यसअघि नै सहमति भइसकेको थियो।

यो प्रणाली लागू भएसँगै विद्यार्थीहरूले अनलाइनबाटै आवेदन दिन, प्रक्रिया पूरा गर्न र स्वीकृत भएपछि आफ्नै प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। साथै, क्युआर कोडसहितको एनओसी डिजिटल रूपमा उपलब्ध हुने भएकाले यसको प्रमाणीकरण पनि सजिलै गर्न सकिनेछ।

पहिले आवेदन दिएपछि विवरण प्रमाणीकरणका लागि कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो। तर अब त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय सँग प्रणाली एकीकृत भएपछि त्यस्तो झन्झट हटेको छ।

यसैगरी, नागरिकता विवरण गृह मन्त्रालय अन्तर्गतको सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टमसँग र शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्ड सँग स्वतः प्रमाणीकरण हुने व्यवस्था गरिएको छ। एनओसी शुल्क पनि महालेखा नियन्त्रकको कार्यालयको अनलाइन राजस्व प्रणालीमार्फत भुक्तानी गर्न सकिने बनाइएको छ।

यद्यपि, स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि आवेदन दिने अवस्थामा सम्बन्धित विश्वविद्यालयहरूको प्रणाली अझै पूर्ण रूपमा जोडिएको नभएकाले आवश्यक कागजात प्रमाणीकरणका लागि केही अवस्थामा आवेदक स्वयं उपस्थित हुनुपर्ने व्यवस्था यथावत् रहेको छ।

तपाईको प्रतिक्रिया