काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको टी–२० सिरिजको पहिलो खेल खेल्दैछ। खेल अपराह्न ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल र यूएई करिब साढे दुई वर्षपछि कीर्तिपुरमा आमनेसामने हुन लागेका हुन्। नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व सम्हाल्नेछन्।
युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले टी–२० क्रिकेटमा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ। टोलीमा कप्तान ऐरीसहित कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्। वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान समावेश छन्।
नेपाल क्रिकेट संघले रात्रिकालीन खेलका लागि ‘खल्ती’ एपमार्फत टिकट काट्ने व्यवस्था मिलाएको जनाएको छ। सिरिजको दोस्रो खेल भोलि हुनेछ।
तपाईको प्रतिक्रिया