बिहीबार १० बैशाख २०८३
बिश्वो

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

सोमबार बैशाख ७, २०८३/ Monday 04-20-26

काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

सुरुमा ७.३ म्याग्निच्युड मापन गरिएको भूकम्पलाई पछि ७.५ म्याग्निच्युडमा परिमार्जन गरिएको जनाइएको छ। यसको केन्द्रविन्दु सान्रिकु तट नजिकै करिब १० किलोमिटर गहिराइमा रहेको थियो। जापानको आफ्नै भूकम्प मापन प्रणालीमा यसलाई ‘५+’ स्तरमा राखिएको छ।

भूकम्पपछि उत्तरपूर्वी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ, जुन जापानको चेतावनी प्रणालीमा उच्चस्तरीय सतर्कतामध्ये एक हो। एजेन्सीका अनुसार ३० मिनेटभित्रै करिब ३ मिटरसम्म अग्ला छालहरू तटमा ठोक्किन सक्ने अनुमान गरिएको छ।

एनएचकेका अनुसार केही स्थानमा सुनामीका प्रारम्भिक छालहरू देखिन थालेका छन्। अधिकारीहरूले जोखिममा रहेका क्षेत्रका बासिन्दालाई ढिलाइ नगरी उच्च भूभागतर्फ सर्न कडा निर्देशन दिएका छन्।

विशेषगरी होक्काइडो, आओमोरी र इवातेका तटीय क्षेत्रहरू बढी प्रभावित हुन सक्ने आकलन गरिएको छ।

भूकम्पका कारण सार्वजनिक यातायातमा पनि असर परेको छ। क्योडो न्युजका अनुसार राजधानी टोकियो र आओमोरीबीच सञ्चालन हुने बुलेट ट्रेन सेवा अस्थायी रूपमा रोकिएको छ। अहिले अधिकारीहरू क्षतिको विवरण संकलनमा जुटेका छन् र प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम राखिएको छ।

तपाईको प्रतिक्रिया