काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आजदेखि सुरु हुँदैछ। परम्पराअनुसार आज बेलुका पुल्चोकमा तयार पारिएको करिब ३२ हात लामो रथ तानेर गाःबहाल पुर्याइनेछ।
रथ तान्नुअघि गुरुज्यूको पल्टनले सलामी दिने र विभिन्न टोलका बाजागाजा समूहले रथको अगाडि–पछाडि बसेर पुल्चोकदेखि गाःबहालसम्म यात्रा गराउने परम्परा छ। रथ विभिन्न स्थानमा पुगेपछि पूजा गरिनुका साथै स्थानीयले जात्राको अवसरमा भोजसमेत आयोजना गर्ने चलन रहेको छ।
साइतअनुसार रथयात्रा गाःबहालबाट अघि बढ्दै मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलसम्म पुर्याइन्छ। त्यहाँ नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि पुनः साइत निकालेर रथलाई जावलाखेल लगिन्छ।
जावलाखेलमा भोटो जात्रा देखाएपछि सोही दिन रातो मच्छिन्द्रनाथलाई बुङमती लगेर राख्ने परम्परा रहेको छ।
तपाईको प्रतिक्रिया