वार्ताको प्रतीक्षामा अमेरिका, इरानसँगको युद्धविराम बढाइयो
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्। तेहरानलाई युद्ध अन्त्यका लागि ठोस प्रस्ताव ल्याउन थप समय दिने उद्देश्यले प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको उनले जनाएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले पाकिस्तानी मध्यस्थकर्ताको आग्रहमा यो कदम चालिएको बताएका छन्। यसअघि तय गरिएको युद्धविरामको समयसीमा बुधबार सकिने तय थियो।
ट्रम्पले अमेरिकी सेनालाई नाकाबन्दी जारी राख्दै पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन्। उनले इरानबाट स्पष्ट प्रस्ताव नआएसम्म र वार्ताले ठोस निष्कर्ष नदिएसम्म युद्धविराम जारी रहने संकेत दिएका छन्। यसले युद्धविरामको अवधि अनिश्चित भएको र इरानको प्रतिक्रियामा निर्भर रहने देखाएको छ।
ह्वाइट हाउसको यो निर्णयलाई ट्रम्पको पछिल्लो नीतिगत परिवर्तनका रूपमा हेरिएको छ। केही घण्टाअघि मात्रै उनले युद्धविराम लम्ब्याउने पक्षमा नरहेको बताएका थिए र इरानी पूर्वाधारमा आक्रमणको चेतावनी दिएका थिए। तर, इरानी पक्षले अमेरिकी समुद्री नाकाबन्दीको विरोध गर्दै तय गरिएको वार्तामा बस्न असहजता जनाएपछि अमेरिकी धारणा केही लचक देखिएको हो।
यता पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले युद्धविराम लम्ब्याउने निर्णयको स्वागत गर्दै ट्रम्पलाई धन्यवाद दिएका छन्। इस्लामाबादले द्वन्द्व समाधानका लागि वार्तामार्फत पहल जारी राख्ने जनाएको छ।
इरानले भने यस निर्णयबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तेहरानस्थित अर्ध–सरकारी समाचार संस्था तस्निमका अनुसार आधिकारिक धारणा केही समयपछि सार्वजनिक गरिनेछ। यसअघि इरानले अमेरिकी नाकाबन्दी नहटेसम्म वार्तामा बस्न नसकिने अडान राख्दै आएको छ।
तपाईको प्रतिक्रिया