अवैध गर्भपतनमा महिलाको मृत्यु: दुई डाक्टरसहित पाँच जना पक्राउ
बुटवल। अवैध रूपमा गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका–३ सुमेरुपथ, रुपन्देहीमा बस्दै आएकी २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको हो।
प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई मंगलबार साँझ नियन्त्रणमा लिएको जनाएको छ। यसअघि नै इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेय, सन्ध्या बस्नेत र जोनल फार्मेसीका निलम घर्तीमगर पक्राउ परिसकेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मृतक पाण्डे नियमित जाँचका लागि खत्री नर्सिङ होम पुग्ने गरेकी थिइन्। १२ हप्ताको गर्भ रहेको अवस्थामा असामान्य देखिएको भन्दै गर्भपतन गर्न सुझाव दिइएको थियो। तर, उचित उपचार नगरी अन्य क्लिनिकमा पठाइँदा अवस्था जटिल बन्दै गएको पीडित परिवारको आरोप छ।
मृतकका श्रीमान प्रकाश पाण्डेले संलग्न व्यक्तिहरूमाथि किटानी जाहेरी दिँदै कारबाहीको माग गरेका छन्। उनका अनुसार गर्भपतनका लागि रिफर गरिएको जोनल फार्मेसीले १६ हजार रुपैयाँ शुल्क मागेको थियो।
पीडित पक्षले अवैध रूपमा गर्भपतन गराउने र रकम असुल्ने गिरोहकै कारण निर्दोष महिलाले ज्यान गुमाउनुपरेको दाबी गरेका छन्। प्रहरीले घटनामा संलग्न सबैमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
तपाईको प्रतिक्रिया