बिहीबार १० बैशाख २०८३
शिक्षा

कतै पढाइ सुरु, कतै रोकियो: शैक्षिक क्यालेन्डरमा अन्योल

बुधबार बैशाख ९, २०८३/ Wednesday 04-22-26

काठमाडौं। काठमाडौं उपत्यका र देशका विभिन्न स्थानीय तहमा संघीय सरकारको वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्देशन कार्यान्वयनमा एकरूपता देखिएको छैन। केही स्थानीय तहले सरकारको निर्णय मान्दै वैशाख २१ देखि मात्रै कक्षा सञ्चालन गर्ने बताएका छन् भने केहीले पहिले नै पठनपाठन सुरु गरिसकेका छन्।

काठमाडौं महानगरपालिका, टोखा, गोकर्णेश्वर र मध्यपुर थिमीले सरकारकै निर्णयअनुसार वैशाख २१ गतेदेखि मात्रै कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन्। महानगरका अनुसार वैशाख १५ देखि २० गतेसम्म भर्ना अभियान सञ्चालन हुने र शनिबार–आइतबार विद्यालय सञ्चालन नगर्न पनि निर्देशन दिइएको छ।

त्यस्तै, ललितपुर महानगरपालिकाले भने भोलि बैठक बसेर अन्तिम निर्णय गर्ने जनाएको छ।

भक्तपुर नगरपालिकाले भने संघीय सरकारको निर्देशन अस्वीकार गर्दै वैशाख ६ गतेदेखि नै कक्षा सञ्चालन गरिसकेको छ। बूढानीलकण्ठ नगरपालिकाले पनि आफ्नै शैक्षिक क्यालेन्डरअनुसार वैशाख ६ गतेदेखि पठनपाठन सुरु गरिसकेको जनाएको छ।

उपत्यका बाहिर पनि धनगढी उपमहानगरपालिका, व्यास नगरपालिका, आँबुखैरैनी गाउँपालिका र झिमरुक गाउँपालिकाले समेत सरकारको निर्देशनभन्दा पहिले नै भर्ना र कक्षा सञ्चालन सुरु गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया