काठमाडौं। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने लिग १० दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ। पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफसहित विभिन्न क्लबबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ न्यू डायमण्ड, पुलिस, एपीएफ, आर्मी लगायत टोली मैदानमा उत्रिएका छन्।
लिग सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन हुनेछ, जसअन्तर्गत कुल ४५ खेल खेलाइनेछन्। लिग चरणपछि दुवै समूहका शीर्ष दुई टोलीबीच फाइनल प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले सन् २०२६ मा हुने काभा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाउनेछन्।
पहिलो दिन महिला र पुरुषतर्फ दुई–दुई गरी चार खेल हुने तालिका छ भने उद्घाटन समारोह दिउँसो ३ बजे हुनेछ।
यसपटक विजेताले १० लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीले ६० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।
तपाईको प्रतिक्रिया