काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिँदै आएको छुट सुविधा स्थगित गर्ने घोषणा गरेको छ।
यातायात व्यवस्था विभागले विद्यार्थी छुट कार्यान्वयन गर्न निर्देशन दिएपछि महासंघले त्यसको प्रतिवाद गर्दै राज्यबाट पाउँदै आएको कर सहुलियत पुनः लागू नभएसम्म छुट नदिने अडान लिएको हो।
महासंघले २०६५ सालको निर्णयलाई आधार बनाएर सरकारबाट व्यवसायीमाथि दबाब सिर्जना गरिएको भन्दै असन्तुष्टि जनाएको छ। विगतमा ४५ प्रतिशत विद्यार्थी छुटको व्यवस्था गरेबापत व्यवसायीले कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशतसम्म सहुलियत पाउने सहमति रहेको थियो। तर संघीय संरचनापछि उक्त सहुलियत हटाइएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन्।
प्रदेश सरकारबाट कर असुली बढ्दै गएको र संघीय सरकारले समेत सहुलियत नदिएको अवस्थाले व्यवसाय सञ्चालन नै कठिन बनेको महासंघको भनाइ छ। कोशी प्रदेशबाहेक अन्य क्षेत्रमा कुनै सहुलियत नपाएको पनि महासंघले जनाएको छ।
महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित पत्रमा सरकारको नीतिले व्यवसायीलाई समस्यामा पारेको उल्लेख गर्दै कर छुटको व्यवस्था कानुनी रूपमा पुनः लागू नभएसम्म विद्यार्थी छुट नदिने स्पष्ट गरिएको छ।
तपाईको प्रतिक्रिया